Pwaase

‘प्वास’ मगर (पहाडिया बस्ती) जन जीवन संग सम्बन्धित क्रियाकलापको छोटो जानकारी

pwaase

महेन्द्र थापा मगर ‘जुगुप्सु’
कावासोती – ५ पश्चिम टोल नवलपुर

‘प्वास’ अर्थात गाउँका मान्छेहरू आफू संग भएको अन्नपात, फलफूल, मसला तथा जडिबुटी आदिहरु बोकेर बजारमा बिक्रि गरि आफुलाई चाहिने नुन, तेल तथा लत्ताकपडा आदि किनेर ल्याउनुकोलागि एकै समयमा घर र गाउँबाट बाहिर निस्कनुलाई मगर ढुटमा ‘प्वास नुङ्के’ अर्थात ‘प्वास जाने’ भनिन्छ ।


विशेषत: गण्डकी प्रदेश (गण्डक क्षेत्र ) का मानिसहरूको नजिकको बजार वा पायक पर्ने क्षेत्र भनेको सहपुर(त्रिवेणि) बजार, बटौली(बुटवल), खस्यौली बजार थियो । म हालको नवलपुर कावासोतीमा जन्मिएर यहि बसेको भए पनि, पहाड घर पाल्पा भएको हुनाले त्यसको असर मेरोमा पक्कै पनि छ । बाजे, बजै, बाबा, आमा तथा अन्य बसाइँसराइ गरि आएकाहरुको कुरा सुनेर पनि केही कुराहरू पत्ता लाग्दो रहेछ ।

‘प्वास’ हिड्नु भन्दा अघिल्लो रात ‘पैठक छुरु’ चामल (एक माना) उठाएर राखिन्छ । अनि साईत हेरेर प्वासको लागि घरबाट निस्कीसके पछि पहिलो छाक त्यही ‘पैठक छुरु’ को भात पकाएर खानु पर्दछ । अनि यात्रा सुरु हुन्छ लेनदेन(ब्यापार), आवश्यकता र जीवनयापनको कठिन पाइलाको ।

अर्को कुरा पहिलो पटक ‘प्वास’ हिडेको ब्यक्ति (सानो देखि ठुलोले) आजकलको भाषामा सायद दर्ता दस्तुर भने जस्तै, ‘पैठक मोहर’ एक मोहर समुहमा बुझाउन पर्दछ ।
आफ्नो सामान आफैले बोकेर बजार सम्म पुगिसकेपछी बुढापाकाहरुले थुप्रै साहुहरु मध्य जुन संग किनबेच गर्ने हो, उ संग दर भाउको ‘निठ्यान’/ पक्का गर्दछन् अनि सम्पुर्णले उसैलाई बेच्नु पर्ने हुन्छ । माल खरिद गर्न पाए बापत खरिद गर्नेले (सायद कमिसन) केही रकम त्यो समुहलाई दिन्छ, जुन रकमलाई ‘छाङ्ग्रा’ भनिन्छ । खरिददारबाट पाएको ‘छाङ्ग्रा’ र पहिलो पटक जानेले बुझाएको दस्तुर ‘पैठक मोहर’ मिसाएर गाउँमा रमाइलो गर्दै खाने गरिन्छ, जसलाई ‘छाङ्ग्रा म्हाँस्के’ भनिन्छ । सो बेला समुहका प्रतिब्यक्तिलाई एक भाग दिइन्छ ।

समुहको माल जोखेर तौल गर्नको लागि एक जना बलियो ब्यक्तिलाई जिम्मा दिनु पर्दछ । सो जिम्मा पाउने ब्यक्तिलाई ‘ट्याला’ भनिन्छ । जसले समुहको सबैको माल जोखेर तौलदै हिसाब गरिदिनु पर्दछ ।
एक वर्षमा कम्तीमा ३ पटक सम्म सामुहिक रुपमा ‘प्वास’ हिड्ने गरिन्छ ।
१) माघ महिना(माघे औंशिमा) सुन्तला बोकेर, फर्कदा लत्ताकपडा, तेल आदि बोकेर ।
२) माघ महिनामा नै फापर बोकेर, फापर र नुन साट्ने (१ जोखा फापर = समयको भाउ अनुसार ३,४,५ जोखा नुन) फर्कदा नुन आदि बोकेर ।
३) फागुन महिनामा सोठी बोकेर, फर्कदा तेल, चना, भुजा, भेली/सक्खर आदि बोकेर ।

रोचक तथा अचम्मको कुरा, फागुनको मसान्त भित्र जसरीपनि यो नवलपुर (तराई, मधेस) छोड्नु पर्ने अर्थात् चैत्र १ वा चैत्र सङ्क्रातिको पानी पिउन नहुने अन्यथा औलोको प्रकोपले सताउँछ भन्ने मान्यता थियो ।

‘प्वास’ यो शब्द मगर समुदायले प्रयोगमा ल्याएको भएपनि यो मगर भाषाको शब्द हैन रहेछ भन्ने लाग्दछ । यसको ब्युत्पत्ती पाली भाषाको ‘पवास’ बाट भएको हुन सक्दछ । पाली भाषाको ब्याकरण अनुसार ‘पवास’ शब्दको अर्थ ‘घरबाट बाहिर/टाढा रहनु’ ‘प्रवास’ भन्ने लाग्दछ । नेपाली शब्दकोष अनुसार ‘प्वास’ भन्नाले ‘तिर्थब्रतको यात्रा / ढाक्रेहरुको यात्रा’ भन्ने लाग्दछ भने ‘प्वासी’ भन्नाले ‘ढाकर बोकेर तिर्थ जानेहरु’ भन्ने अर्थ लाग्दछ । यहि ‘पवास/प्रवास’ जानेलाई ‘पवासी/प्रवासी’ भनिन्छ । सोही शब्द ‘पवास’ को अपभ्रसित रुप ‘प्वास’ र ‘प्वास’ जानेहरुलाई मगरीकरण ‘प्वास्या’ भनियो । सोही ‘प्वास्या’ शब्द फेरि ‘नेपाली वा खस’ रुप धारण गरेर ‘प्वासे’ पनि भनिन्छ कतै कतै ।

पाली भाषामा ‘पथ’ को अर्थ ‘बाटो, मार्ग, क्षेत्र’ भन्ने लाग्दछ भने ‘पथिक’ को अर्थ ‘यात्री, बटुवा, बाटो, मार्ग, पथमा हिड्ने’ भन्ने लाग्दछ । सोही ‘पथिक’ शब्दको अपभ्रसित रुप मगरीकरण भई ‘पैठक’ हुन पुग्यो । र सोही ‘पैठक’ अर्थात् ‘पथिक’ मा पहिलो पटक जाने ब्यक्तिलाई लाग्ने दस्तुर स्वरुपको एक मोहर रकमलाई ‘पथिक मोहर’ को अपभ्रसित रुप मगरीकरण ‘पैठक मोहर’ भयो ।

स्रोत/जानकारी :- सुमित्रा मगर्नी (७८)
कावासोती -५ पश्चिम टोल नवलपुर

तस्विर स्रोत :- बिमला रोका मगर युट्युब च्यानल


100 thoughts on “‘प्वास’ मगर (पहाडिया बस्ती) जन जीवन संग सम्बन्धित क्रियाकलापको छोटो जानकारी”

  1. Chandra Phal Magar

    असाध्यै राम्रो लेख, खोज मुलुक अनि एक जिबन्त इतिहास बोकेको सस्कृतिलाई उजागर गर्ने लेख। फेरि फेरि यस्तै लेखहरु पढ्न पाउने आशा राख्दै प्यारो दाईलाई नमन ।।

Leave a Comment

Your email address will not be published. Required fields are marked *