Pwaase

दुईसरामा अल्झिएको दिलसरा

dilsara

तिल थापा मगर

चलचित्र कर्मी

मगर चलचित्रको इतिहासमा एउटा इट्टा थप्दै नारी पात्रलाई सशक्त रुपमा प्रस्तुत गर्दै आएको नारी प्रधान चलचित्र हो “दिलसरा” । चलचित्र दिलसरा मिना थापा मगरको लेखन र असोक आले मगरको निर्देशन रहेको छ ।

    चलचित्रको सुरुवातमै दिलसरा पात्रलाई बिद्यार्थीको भुमिकामा भविष्यमा पढेर ठूलो मान्छे बन्ने लक्ष्यका साथ देखाइएको छ । उसको उदेश्य र लक्ष्यको बाधक भनेको गरिबी हो । आमाको मिहिनेत र घरमै उत्पादन गरेको घरेलु मदिराको बिक्रीको आम्दानी बाट जेनतेन पढाई खर्च चलेको हुन्छ । तर बाबाको मदिरा सेवन गर्ने र पैसा झिक्ने बानिले दिलसराको पढाइमा अवरोध खडा गर्छ । कमानसिंह (लाहुरे) रातदिन दिलसराको पछाडि लागेर मायाको भरोसा दिलाउँछ र दिलसराको मन जित्न सफल हुन्छ । गाउँकै एउटा छेवर बाट साथिहरुको सहयोगमा रातारात दिलसरालाई भगाएर घर लैजान्छ । तर कमानसिंहको आमा बुहारी भित्र्याउन सहमति हुदैन किन भने मगर परम्परा अनुसार सानैमा कमानसिंह र आफ्नै भदैनि रिमा(कमान सिंहको साली)को सानैमा(ज्योतिषको भनाइमा लागेर) धागो बाधेर मगनी गरि राखेको हुन्छ । आमाले छलकपट गरि कमानसिंहलाई आफ्नै साली रिमा भित्र्याई दिन्छ । त्यसपछि कथामा दुईसरा देखिन्छ । फिल्ममा एउटा सरा कमानसिंह आफ्नो माया(दिलसरा) पाउन भौतारी रहन्छ भने अर्को सरा रिमाले श्रीमान(कमान सिंह)को माया पाउन तड्पिरहन्छ । फिल्ममा कमान सिंह र दिलसराको माया सफल हुन्छ कि रिमाले कमान सिंहको माया पाउन सफल हुन्छ यो जान्न भने २ घण्टा ४६ मिनेटको चलचित्र “दिलसरा” हेर्नै पर्ने हुन्छ ।  

फिल्म हेर्दा मध्यान्तर भन्दा अगाडी हास्न पाइन्छ भने मध्यान्तर पछाडी दर्शकहरुलाई भाबुक बनाउछ । दुईवटा गीत राखिएको छ दुबै गीत आफैमा सुनमा सुगन्ध बोकेर ल्याएको छ । कास्की जिल्लाको सुन्दर गाउँमा छायांकन गरिएको दिलसराले मगर बस्ती, मगर संस्कार र मगर सँस्कृतिको प्रतिनिधित्व गरेको छ । आंशिक रुमपा भएपनी मगर जातिमा बोलिने तीन भाषा मध्य ढुटको संवादले पनि मगरपन थपेको छ । चलचित्रले मगर समुदायको नारी पनि अब लोकसेवामा प्रतिस्पर्धा गरेर आफुलाई राज्यको सेवकको रुपमा स्थापना गर्न सक्छ भन्ने सन्देश पनि दिएको छ । मगर समुदायले अहिले आएर हत्याहिंसा त्याग्दै गएता पनि बिगतमा गर्दै आएको दुलही भित्राउदा गरिने बिधी(ढोकामा कुखुरा काटेर भित्र्याउने) राम्रो संग चित्रण गरेको छ भने छेवरमा घाँटिमा दाम्लोले बाधेर मुखमा घाँस र चाकमा गोबर राखेर गरिएको छेवरले एकपटक पुरानो संस्कारको स्मरण गराउँदछ । मगर समुदायमा मागी विवाह भन्दा भागी विवाह गर्ने चलन छ । सामान्य तय सोध्दा पनि ‘नो मिजा जोहा कि माजोहा ?’ अर्थात्  तिम्रो छोरी भाग्यो कि भागेन ? भनेर सोध्ने गरिन्छ,  विवाह भयो भएन भनेर सोध्ने गरिदैन । यसबाट पनि मगर समुदायमा भागी विहे गर्ने प्रचलन पुष्टि हुन्छ जुन दिलसरामा देखाइएको छ ।

अभिनयको पाटोमा नयाँ कलाकारहरुको केही कमजोरी देखिए पनि मुख्य पात्रको भने अभिनयमा सशक्त र अब्बल देखिन्छ । दिलसराको अभिनयमा खोट लगाउने कुनै ठाउँ छैन । उनले कथालाई न्याय गरेकी छिन् । दिलसराको आमा(गृहणी महिला जसले रक्सी पारेर जिविका चलाउँछ) र बाबा(जड्याहा)को अभिनय पनि कथाले मागे अनुसारको बलियो छ । कमान सिंहको अभिनयले पनि कथालाई न्याय गरेको छ भने कमान सिंहको आमाको छुच्ची भुमिकाले समाजमा भएको छुच्ची महिलाको प्रतिनिधित्व गरेको छ मामाको छोरी रिमा(कमान सिंहको साली)ले पनि आफ्नो उत्कृष्ट अभिनय गरेकि छिन् । समग्रमा चलचित्रले मगर समुदायको कथा बोकेको छ भने परिवार संग बसेर पारिवारिक महोलमा बसेर हेर्न लायकको बनेको छ ।

कथा राम्रो हुदाहुदै पनि चलचित्रमा केही कमजोरी रहेको छ । चलचित्रमा सबभन्दा वकवास भनेको मिङ मिङ दादाको द्वन्द छ, ५० वर्षे मिङ मिङ दादाको दायाँबायाँको उसको सहयोगीहरु ओठ निचोर्दा दूध आउने खालको कलिलो बच्चाहरु छ । अनावश्यक द्वन्द जबर्जस्ती घुसाएको छ, जुन द्वन्द नभए पनि कथा सजिलै भन्न सकिन्छ वा कथा अगाडी बढ्छ । द्वन्दमा दिलसरालाई बचाउन आउने अर्को पात्र झन हाँसोको पात्र मात्र बनेको छ, एक्सनमा उत्रिएको पात्रको एक्सन बच्चाहरुको ढिसुम् ढिसुम् जस्तो छ । त्यो भन्दा पनि उसको दृश्य चमत्कारी छ । कहाँ बाट आउछ, कहाँ जान्छ कुनै जानकारी छैन सिधै एक्सनमा आउँछ दिलसरालाई बचाउछ अनि गायब हुन्छ, उसको कुनै भुमिका छैन । कथामा टुइष्ट छदै छैन भन्दा पनि हुन्छ किन भने दर्शकहरुले अब के हुन्छ होला भनेर सोच्नु पर्ने कुनै ठाउँ छैन अथवा सजिलै अनुमान गर्न सकिन्छ । कथाको टुइष्ट भनेको कमान सिंहको आमाले रिमा भित्र्याउँदा हो त्यो पनि संवाद र दृश्यले पहिल्यै बताई दिन्छ । चलचित्र नारी प्रधान भनिएको छ तर दिलसराको बिद्यार्थी जीवन देखि लोकसेवा लडेर पालिकाको योजना अधिकृत सम्म बन्दा उसले गर्नु पर्ने संघर्ष पुगेको छैन, दिलसराको संघर्षलाई जिवन्त बनाउन र अझ सशक्त बनाउने धेरै ठाउँ हुदाहुदै पनि निर्देशक चुकेको छ । उता रिमाले कमान सिंहको मन जित्न चार चार छुट्टी पर्खिदा सम्म पनि सकिन भनेर संवादमा मात्र सिमित छ, रिमाले चार चार छुट्टी सकिदा सम्म पनि कमान सिंहको मन जित्ने कुनै काम गरेकै हुँदैन । त्यस्तै कमान सिंह पनि दिलसराको मायामा भौतारिन्छ तर दिलसरालाई एकपटक भन्दा खोज्ने प्रयासनै गर्दैन । उता दिलसरा पालिकाको योजना अधिकृत बनेर पालिकामा पुग्छ, पुगेकै कार्यक्रममा स्वागत भन्दा पहिला प्रमुख अतिथी बनेर आफ्नो कार्ययोजना प्रस्तुत गरेको अस्वभाविक देखिन्छ । कथा राम्रो हुदाहुदै पनि लेखक र निर्देशक धेरै ठाउँमा चुकेको देखिन्छ ।   

dilsara
film review

छायांकन पक्षमा धेरै सुधार गर्न सक्ने ठाउँ छ भन्नू पर्दा सुधार गर्नुपर्ने देखिन्छ । क्यामेरा धेरै ‘फेस फोकस’ गरिएको छ अर्थात् कास्की जिल्लाको पोखरा वरिपरि छायांकन गरिको चलचित्र भएता पनि पुरै चलचित्र भरी खुलेर बाहिरको सुन्दर दृश्य हेर्न सकिने भनेको एउटा गीतमा मात्र हो, पुरै चलचित्र हेर्दा पनि कास्की जिल्लाको सुन्दर दृश्यहरु हेर्न नपाई चलचित्र सकिन्छ । कस्तो गाउँ छ, कस्तो भुभागमा छ भनेर उत्सुक हुदाहुदै चलचित्र सकिन्छ ।

निष्कर्ष :-  

मगर चलचित्रको इतिहास हेर्दा झण्डै २५ वर्ष पुगिसकेको छ र पनि मगर चलचित्र उधोग भने भर्खरै बामे सर्दै छ । यसरी बामे सर्दै गरेको अवस्था दिलसरा जस्तो चलचित्र निर्माण हुनुलाई राम्रो पक्ष मान्नु पर्छ । समग्रमा चलचित्रले मगर समुदायको प्रतिनिधित्व गरेको छ । सुधार गर्नुपर्ने धेरै ठाउँहरु छ अथवा केही मिहिनेत गरेर चलचित्रलाई धेरै माथी उठाउन सकिन्थ्यो र पनि केही कमि कमजोरी हुदाहुदै चलचित्र दिलसरा एकपटक हेर्नुपर्ने चलचित्र बनेको छ ।

तिल थापा मगर

चलचित्र कर्मी


737 thoughts on “दुईसरामा अल्झिएको दिलसरा”

Leave a Comment

Your email address will not be published. Required fields are marked *