Pwaase

दशैंलाई जितेको दशा


दशैंको आउदै गरेको समय थियो। आकाश कालो बादलले भरिएको थियो, र मौसमले राम्रो हुने संकेत दिएको थिएन। पहाडी गाउँमा सबैजना वर्षाको प्रतिक्षामा थिए, तर कसैले कल्पना गरेका थिएनन् कि यो वर्षा दशाको रूपमा आउनेछ। असिना र पानीले खेत र बारी भरिन थालेपछि, गाउँलेहरूका मुहारमा चिन्ताको रेखा देखियो । यही गाउँमा बस्ने एक नाबालिका, आघेरा आफ्नो परिवारसँग खेल्दै घर बाहिर निस्किएकी थिई। आघेरा केवल आठ वर्षकी थिई। उसका लागि वर्षा भनेको रमाइलो गर्ने समय थियो। उसले आकाशतिर हेरिन्, पानीको थोपाहरू उसको अनुहारमा झरिरहे। आमाले आवाज दिइन्, “आघेरा, छिट्टै घरभित्र आउ! पानी बढ्दै छ। ”तर आघेरा रमाइरहेकी थिई। वर्षा सुरु हुँदा, पानीको आवाज सुन्दै हाँसेकी थिई। बुवाले झ्यालबाट हेरिरहनु भएको थियो। उनीले थाहा पाएको थिएन कि केही क्षणमै यो रमाइलो वर्षा दशामा बदलिनेछ।

केही समयपछि, वर्षा झन् तीव्र हुन थाल्यो। गाउँभरि पानी बग्न थाल्यो। खोलाहरूमा पानीको बहाव असाध्यै बढ्यो। आघेरा आफ्ना आमाबुवासँग घरभित्र आइपुगी। आँगनमा पानी जम्न थालेपछि सबैजना घरभित्रै रहन बाध्य भए। बल्ल बुवाले भने, “यो खतरा छ। हाम्रा खेतबारी सबै बगाउन सक्छ । हामीले यस्तो वर्षा पहिले कहिल्यै देखेका थिएनौं।” आघेराका लागि यो केवल पानी थियो, तर बुवाका लागि यो चिन्ताको संकेत थियो। आकाशमा बिजुली चम्किरहेको थियो। गाउँमा सबैजना आफ्ना घरभित्र थुनिए, र बाहिरको बाढीले के-कसलाई कस्तो नोक्सान गरिरहेको छ भनेर कल्पना गर्न सकिरहेको थिएनन्। त्यो रातको मध्य भागमा, अचानक, ठूलो आवाज आयो। आकाशबाट बिजुली चम्कियो, र खोलाको डिलमा रहेको ठूलो पहाड भत्कियो। पहाडसँगै रहेको गाउँमा पानी र पहिरोले तबाही मच्चायो । आघेरा झसंग भएर उठी। उसले आफ्नो घर हल्लिरहेको महसुस गरिन्। “आमा! के भयो?” आघेरा डराउँदै चिच्याई। आमाले तुरुन्तै उसलाई अँगालोमा समातिन्।“आघेरा, बाहिर के भइरहेको छ थाहा छैन, तर सबै सुरक्षित रहनेछौं। तिमी डराउनु पर्दैन,” आमाले उसलाई सम्हाल्ने प्रयास गरिन्। तर बुवाले भने, “पानीको वहाव बढ्दैछ। हामीलाई घर छोड्नुपर्नेछ।”आघेरा, उसको आमा र बुवा तुरुन्तै उठे। उनीहरूले बाहिर हेरिरहे, जहाँ खोलाको पानी घरको आँगनसम्म आइपुगिसकेको थियो। खोलाबाट पानी बढ्दै थियो, अनि घरको छेउछाउका रूखहरू ढल्न थालेका थिए।

त्यो रात आघेरा र उसका परिवारले आफ्नो जीवनको सबैभन्दा ठूलो विपत्तिको सामना गरे। उनीहरूलाई थाहा थियो, अब यो घर सुरक्षित छैन। आघेरा, आफ्नो आमा र बुवासँगै, बाढीको बीचमा घर छोडेर सुरक्षित स्थानतर्फ भाग्नुपर्ने भयो। “छिट्टो हिँड, आघेरा!” बुवाले भने। आघेरा आमाको हात समात्दै दौडिन्। पानी उनको खुट्टामा झण्डै टाउकोसम्म पुगिसकेको थियो। गाउँका अरू परिवारहरू पनि त्यहाँबाट भाग्दै थिए। गाउँबाट माथि रहेको एक सुरक्षित स्थानमा पुग्न प्रयास गर्दै गर्दा बाढीको बहाव अझ तीव्र हुँदै गयो। उनीहरू बाटोमा ठूला ढुंगाहरू र बगिरहेको रूखहरू पार गर्दै अगाडि बढ्न खोजिरहेका थिए। बुवाले एकाएक कराउनुभयो, “पानी अझ बढ्दैछ! सबैजना चाँडो हिंड ! ”तर त्यसबेला एक्कासि ठूलो पहिरो खस्यो। आघेरा र उनकी आमाले भाग्न खोज्दा खोज्दै पनि, पहिरोको तीव्र बहावले उनीहरूलाई एकअर्काबाट अलग गरिदियो।

आघेरा आफ्ना आमाबुवासँग छुट्टिइन्। उनीसँग आमाको हात समात्ने शक्ति थिएन। पानीले उनलाई बगाउँदै अगाडि पुर्‍यायो। “आमा! बुवा!” आघेरा चिच्याउँदै कराई। तर त्यो चिच्याहट बाढीको गर्जनले दबाइदियो। पहिरोले सबैतिरका बाटाहरू बन्द गरिदियो, र गाउँ पहिरोले पुरिएको थियो। आघेरा अब एक्लै थिई। पानीले उसको शरीरलाई निरन्तर धकेलिरहेको थियो। ऊ आफैलाई बचाउने प्रयास गर्दै नदीको किनारमा पुगेकी थिई। त्यहाँ एउटा ठूलो रूख ढलेको थियो। आघेरा त्यो रूखमा समातेर केही समय सुरक्षित रहन सफल भइन्। बाढीको बहाव र पहिरोले गर्दा अब उसले आफ्नो परिवारलाई फेरि भेट्न छैन भन्ने महसुस गर्न लागिसकेकी थिईन् । तर उसले आफूलाई जोगाउनै पर्ने थियो। “मलाई कसैले बचाओ!” आघेरा रोई। तर चारैतिर पानी मात्र देखिन्थ्यो। मडारिएको खोला र भत्किएका पहाडले गर्दा अब गाउँको कुनै अंश पनि सुरक्षित थिएन।

आघेरा अब आफूलाई सम्हाल्न खोज्दै थिई। ऊ एउटा रूखको हाँगामा झुण्डिएकी थिई, जसले उनलाई बाढीले बगाउनबाट रोकेको थियो। उसको आँखामा अब अन्धकार छाएको थियो, तर उसको मनमा अझै बाच्ने आशा बाँकी थियो कि उसका आमा-बुवा कुनै सुरक्षित ठाउँमा पुगेका होलान्। तर बिहान भयो। बाढीको बहावले गाउँलाई सखाप बनाइसकेको थियो। ठाउँ-ठाउँमा ढुंगा, रूखका ठुटा, र भत्किएका घरहरू मात्र देखिन्थे। आघेरा भोकले तड्पिरहेकी थिई। उसलाई थाहा थिएन, अब के गर्ने। त्यसपछि उसले तलतिरबाट गाउँका केही मानिसहरूको आवाज सुनी। “कोही छ यहाँ?” कसैले करायो। आघेरा तुरुन्तै आवाजको दिशा खोज्दै कराउन थाली, “म छु! यहाँ छु!” उनीहरूको टोलीले आघेरालाई भेट्टाए। उनीहरूले उसलाई बाढीको बीचबाट उद्धार गरे। तर गाउँको अवस्था देखेर आघेरा स्तब्ध भइन्। त्यहाँ न त उसको घर बाँकी थियो, न त अरू केही। “मेरो आमा-बुवा कहाँ छन्?” आघेराले सोधिरहेकी थिई। तर कसैसँग उत्तर थिएन। बाढीले सबैलाई आफ्नो लपेटमा लिएको थियो। गाउँमा बाँच्नेहरू थोरै थिए, अनि आघेरा आफैं अब अनाथ भइसकेकी थिई।

केही दिनपछि, गाउँलेहरूले आफूलाई सम्हाल्न थाले। संघ संस्थाबाट उद्धारको लागि टोली आयो, र गाउँको पुनर्निर्माणको काम सुरु भयो। तर आघेरा अब एक्लो थिई। उनका आमा-बुवा कहिल्यै फिर्ता आएनन्। उनीहरूको बारेमा कसैले केही पनि पत्ता लगाउन सकेन। आघेरा अब अनाथ भइन्, तर गाउँका केही दयालु मानिसहरूले उनलाई आश्रय दिए। आघेरा अझै पनि हरेक रात आफ्नो आमाबुवालाई सम्झेर रुन्छिन् । उनले महसुस गरिन्, जीवन कहिलेकाहीं एकदमै कठोर हुन सक्छ। तर आघेरा बिस्तारै आफ्नो जीवनलाई नयाँ ढंगले सम्हाल्न थालिन्। गाउँको पुनर्निर्माण भएपछि, उनी आफ्नो नयाँ घरमा बस्न थालिन्। तर बाढीले लिएको उसका परिवारको सम्झना भने जहिल्यै उसको मनमा जीवित रह्यो।

तिलुज मगर

कावासोती – २ नवलपुर


107 thoughts on “दशैंलाई जितेको दशा”

Leave a Comment

Your email address will not be published. Required fields are marked *